काठमाडौँ । बचतकर्ताको रकम हिनामिना गरेका एकजना आरोपीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा लाई तिनचुलीबाट प्रहरीले पक्राउ गरेको हो । लामा उक्त सहकारीको तत्कालीन ऋण उपसमिति सदस्य रहेको पाइएको छ । लामाको पक्राउसँगै स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ पर्नेको सङ्ख्या २ पुगेको छ ।
यसअघि लेखा समितिकी सदस्य काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा पक्राउ परेकी थिइन् । स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न २४ जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।