ढाका, असार २४
भर्खरै सकिएको आर्थिक वर्षमा बंगलादेशमा महंगीले सरकारी लक्ष्यको सीमा नाघेको छ । सरकारले राखेको ५.५ प्रतिशतको मुद्रास्फीति लक्ष्य जित्ने क्रममा महंगी ५.६५ प्रतिशत पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । खासगरी विश्व महामारीले आपूर्ति प्रणाली ध्वस्त पारेकाले त्यसको असर परेको बताइएको छ ।
आर्थिक वर्ष २०१९/०२० को औसत मुद्रास्फीति अघिल्लो आवको ५.४८ प्रतिशतको तुलनामा १७ आधार विन्दुमा उच्च रहेको सोमबार ब्युरो अफ स्टाटिस्टिक्सले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यसका बाबजुद यो दर गत दशकको तुलनामा तेस्रो न्यून मुद्रास्फीति दर हो । जुन महिनामा सबै क्षेत्रको महंगी ५० आधार विन्दुमा बढेर ६.०२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही महिना ५.५२ प्रतिशत मात्रै रहेको थियो । खाद्य क्षेत्रमा आएको महंगीको प्रभाव यसमा देखिएको बताइएको छ । जुनमा खाद्य क्षेत्रको महंगी ६.५४ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.१४ प्रतिशतले बढी हो ।
बंगलादेशी योजनामन्त्री एमए मेननले तथ्यांक सार्वजनिक गर्दै बाढी र प्राकृतिक विपत्तिलाई महंगी बढ्नुको कारण भनेका छन् । यी कुराहरुमा सुधार आए महंगी घट्न सुरु हुने उनको दाबी छ । यता गैरखाद्य क्षेत्रको महंगी भने ४९ आधार विन्दुमा घटेर गत महिना ५.२२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ५.७१ प्रतिशत रहेको थियो । ग्रामीण क्षेत्रको महंगी बढेर ६.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको जुन महिनामा ६४ आधार विन्दुमा यस्तो महंगी ५.३८ प्रतिशत थियो । खाद्य महंगी ५.५८ प्रतिशतबाट बढेर ६.४७ प्रतिशत पुग्दा गैरखाद्य क्षेत्रको महंगी १७ आधार विन्दुमा बढेर ५.१८ प्रतिशत पुगेको बताइएको छ ।
त्यस्तै सहरी क्षेत्रको महंगी गत महिना २५ आधार विन्दुमा ६.०३ प्रतिशत रहेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा धेरै हो । जुन महिनामा मात्रै खाद्य महंगी ५.०१ प्रतिशतबाट बढेर ६.७२ प्रतिशत पुगेको छ भने गैरखाद्य महंगी ६.६४ प्रतिशतबाट घटेर ५.२७ प्रतिशतमा पुगेको छ । खासगरी चामल, अण्डा, ब्रोइलर कुखुरा, फलफूल, तरकारीलगायतको मूल्य जुन महिनामा मेमा भन्दा बढेको बीबीएसले जनाएको छ । बंगलादेशले नयाँ आर्थिक वर्षको मुद्रास्फीति लक्ष्य ५.४ प्रतिशत तोकेको छ ।