अमेरिका, असार २४
विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या पाँच लाख ३२ हजारभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने संक्रमितको संख्या एक करोड १३ लाखभन्दा बढी पुगेको छ । तर जोन हकिन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमितको संख्या एक करोठ १५ लाख रहेको छ भने मृत्यु हुनेको संख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगेको छ । त्यस्तै निको हुनेको संख्या ६२ लाखभन्दा बढी रहेको छ ।
विश्वमा सबैभन्दा बढी संक्रमितको संख्या संयुक्त राज्य अमेरिकामा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । संक्रमणका हिसाबले भारत विश्वको बढी प्रभावित मुलुकहरूमध्ये तेस्रो स्थानमा रहेको छ । यद्यपि मृत्यु संख्या भने अमेरिका, ब्राजिलपछि बेलायतमा बढी रहेको छ । बेलायतमा मंगलबारसम्म कुल ४४ हजार २ सय ३६ को मृत्यु भएको छ भने संक्रमितको संख्या भने दुई लाख ८५ हजार ७ सय ६८ मात्रै रहेको छ ।
संक्रमण र मृत्युका हिसाबले हेर्दा विश्वमा बढी प्रभावित अन्य मुलुकहरूमा इटली, स्पेन, रूस, पेरू, फ्रान्स, मेक्सिको र जर्मनीलगायतका मुलुकहरू रहेका छन् । विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरस संक्रमणका कारण महामारीको अवस्था आएको घोषणा गत मार्च ११ मा गरेको थियो । सर्बप्रथम कोरोनाभाइरस संक्रमणको पुष्टि चीनको वुहान सहरमा भएको थियो ।
ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु : ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या मंगलबार ६५ हजार ४ सय ८७ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको संख्या ६ सय २० रहेको छ । त्यस्तै विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ संक्रमितको संख्या थप २० हजार २ सय २९ ले वृद्धि भएको छ ।
अहिलेसम्म ब्राजिलमा १६ लाख २३ हजार २ सय ८४ व्यक्ति कोभिड–१९ संक्रमित भएका छन् । सोमबार ब्राजिलमा नयाँ संक्रमितको संख्या २६ हजार रहेको थियो भने मृत्यु संख्या ६ सय २ रहेको थियो । ब्राजिलमा अहिलेसम्म कोभिड–१९ संक्रमण उपचारपछि निको हुनेको संख्या नौ लाख २७ हजार २ सय ९२ रहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।