दुवई, असार २४
कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुवई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ । एपीका अनुसार पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यहाँका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन् । पछिल्लो समय दुवईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो ।
दुवई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न यहाँको सरकारले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई यहाँ आमन्त्रण गर्न दुवईले तयारी थालेको छ । तर यसका लागि कोरोनाभाइरसको नियन्त्रण गर्नु संयुक्त अरब इमिरेट्स (युएई) का लागि फलामको च्यूरा चपाए सरह हुनेछ । युएईमा पनि कोरोनाभाइरसबाट संक्रमितहरु रहेका छन् र उनीहरुको उपचार जारी छ ।
मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको दुवईमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ । ‘मेरो विचारमा यस्ता कार्यले मानिसमा दुवई घुम्न आत्मविश्वास बढाउँछ’, दुवईस्थित रोभ होटल्सका कर्पोरेट निर्देशक पल ब्रिजरले भने, ‘तैपनि मानिसमा विश्वास जागृत गराउन केही समय लाग्नेछ ।’
पर्यटकीय गन्तव्यका लागि दुवई पछिल्ला वर्षमा निकै प्रख्यात छ । यहाँका शासक शेख मोहम्मद बिन रसिद अल मख्तुमले दुवईलाई विश्वस्तरको आकर्षक सहर बनाउन कुनै कसर बाँकी राख्नु भएको छैन । विश्वकै अग्लो भवन बुर्ज खलिफा र बुर्ज अल–अबर लक्जरी होटल जस्ता संरचना निर्माण गरिएको दुवईमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल दुवई अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेको छ ।
सन् २०१९ मा मात्र दुवईमा एक करोड ६७ लाख मानिसले भ्रमण गरेका थिए । अघिल्लो वर्ष यहाँ १ करोड ५९ लाख मानिसले भ्रमण गरेका थिए । यहाँ सबैभन्दा बढी पर्यटक भारत, साउदी अरेबिया, बेलायत, ओमान, चीन, रसिया र अमेरिकाबाट आएका थिए । दुवई घुम्न आउने पर्यटकहरुको औसत बसाई साढे तीन दिन रहेपनि पर्यटकका कारण यहाँका रेस्टुराँ, बार र रात्रिजीवन निकै खचाखच हुने गर्दथे । शारजाह सहित छिमेकी मुलुकहरु इरान, कुवेत र साउदी अरेबियामा मदिरा सेवनमा प्रतिबन्ध भए पनि दुवईको अर्थतन्त्रको मुख्य आकर्षणमा मदिराको खुला बिक्री वितरण पनि हो ।
तर दुवईमा जोखिम भने यथावत् छ । दुवईको राष्ट्रिय ध्वजाबाहक इमिरेट्सले कोरोनाभाइरसको जोखिम देखाउँदै हवाई उडान स्थगित गरेको छ । करिब ९० लाख जनसंख्या रहेको युएईमा ५० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर यीमध्ये करिब ४० हजार निको भइसकेका छन् भने ३२१ जनाको मृत्यु भएको छ ।
दुवई घुम्न चाहनेहरुका लागि प्रत्येक पर्यटकले गन्तव्यबाट उड्नु ९६ घण्टाअघि कोविड–१९ को परीक्षण गरेको हुनु पर्नेछ । अन्यथा, परीक्षण नगरेको अवस्थामा आगमनमै उनीहरुको परीक्षण गरिने तथा स्वास्थ्य प्रतिवेदन प्राप्त नहुँदासम्म आइसोलेसनमा बस्नु पर्नेछ । स्वास्थ्य प्रतिवेदन प्राप्त गर्न केही घण्टामै सम्भव हुने अधिकारीहरुले बताएका छन् । साथै, दुवई भ्रमण गर्न चाहनेहरुले कोविड–१९ समेटिएको स्वास्थ्य बिमा अनिवार्य रुपमा गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।