विराटनगरको रेन्बो रोडमा कुनै बेला शिखर ब्रान्डको गुट्का उत्पादन गर्ने उद्योगी भवानी बोहोराले हाल स्विट सुपारी भन्दै मधु स्वीट सुपारी ब्रान्डको उत्पादन गरी बिक्री गर्ने गरेका छन् । शिखर गुट्कामा राजस्व छली गरेको मुद्दा खेपेपछि लामो समय मौन रहेर बसेका बोहोरा पछिल्लो समय मधु स्विट सुपारी उत्पादन गर्न थालेका हुन् ।हाल उनको सो उत्पादन पनि विवादमा तानिएको छ । विशेषगरी बजारमा सुपारी कारोबारीको हिसाब मिलाउने विषयमा भवानी बोहोरा अग्रपङ्क्तिमा आउने गरेका छन् ।
गत वर्ष उद्योग मन्त्रालयको सिफारिसमा उद्योगी बोहोराले आफ्नै उद्योगको नामबाट आयात गरेको करिब पाँच सय टन सुुपारीको कोटामध्ये केही कोटा बिक्री गरी हिसाब मिलान गरेका थिए । उक्त कोटाको सुुपारी मिलान गर्न पनि उद्योगी भवानी बोहोराले गत असार मसान्तको मौका छोपी आफूले मधु स्विट सुपारी बिक्री वितरण तथा उत्पादन गर्दै आएका बताएर हिसाब मिलान गरेका थिए । उद्योगी बोहोराले कमसल गुणस्तरको सुपारी अर्का सुुपारीका व्यवसायी दिनेश राठीबाट खरिद गरी चार गुणासम्म मुनाफा लिएर उद्योगका नाममा आयात भएको राम्रो सुुपारी दोब्बर मूल्यमा सुुपारी कारोबारीलाई नै बिक्री गर्ने गरेका छन् । सोही कारण उनी विवादमा आएका मुछिने गरेका छन् ।
पछिल्लो समय अर्थतन्त्र नै धरासायी भयो भनी अनुनयविनय गर्ने उद्योगी बोहोराले दिन दुना र रात चौगुनाका रूपमा कमाउने अभियान नै चलाएको स्रोतले बताउन थालेका छन् । यद्यपि बोहोराले गत असार मसान्तमा आफ्नो कमाइलाई भने ढाकछोप गरी न्यून राजस्व बुझाएका छन् । गत वर्षको पुष मसान्तमा आन्तरिक राजस्व कार्यालयबाट भने उनले उन्मुक्ति पाएका थिए । अहिले चलेको आर्थिक मन्दीका बाबजुद पनि सामान्य दैनिक जीवनयापन गर्नेदेखि माथिल्लो दर्जाका व्यक्तिहरू समेतले सेवन गर्ने मधु स्विट सुपारीका सञ्चालकको कारोबार दिनदुना र रात चौगुना भएर बढ्न पुगेको छ ।