काठमाडौं । घरजग्गा व्यवसाय (रियलस्टेट) कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको २०८१ भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले रियलस्टेट क्षेत्रमा दुई खर्ब ६२ अर्ब ८३ करोड ४० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । जुन एक वर्ष अघिको तुलनामा २१ अर्ब ७७ करोड ८० लाख रुपैयाँ बढी हो । २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाले रियलस्टेटमा प्रवाह गरेको कर्जा दुई खर्ब पाँच करोड ६० लाख रुपैयाँ थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम प्रसस्त छ । ओभरड्राफ्ट, हायरपर्चेज, चालुपुँजी र विपन्न वर्गमा कर्जा विस्तार न्यून भएपनि रियलस्टेट क्षेत्रमा केही बढी कर्जा गएको देखिएको छ ।
वाणिज्य बैंकहरुले ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा दुई खर्ब २२ अर्ब ४५ करोड ४० लाख रुपैयाँ प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा १३ अर्ब चार करोड २० लाख रुपैयाँ बढी हो । गतवर्ष भदौसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ४३ अर्ब ६३ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गरेकोमा रियलस्टेट क्षेत्रमा दुई खर्ब नौं अर्ब ४१ करोड २० लाख रुपैंयाँ प्रवाह गरेका थिए ।
विकास बैंकहरुले गत भदौ मसान्तसम्म पाँच खर्ब तीन अर्ब ६५ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेटमा २९ अर्ब ६८ करोड ४० लाख रुपैंयाँ प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात अर्ब ६१ करोड ८० लाख रुपैंयाँले बढी हो । गत वर्ष भदौ मसान्तमा विकास बैंकहरुले चार खर्ब ७१ अर्ब ४० करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा रियलस्टेटमा २२ अर्ब छ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरुले भने चालु आवको भदौ मसान्तसम्म एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेकोमा रियलस्टेटमा १० अर्ब ६९ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ११ करोड ७० लाख रुपैंयाँले बढी हो । गत वर्ष भदौ मसान्तमा फाइनान्स कम्पनीहरुले ९२ अर्ब १४ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेकोमा रियलस्टेटमा नौं अर्ब ५७ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए ।