काठमाडौं, असार २४
ग्लोबल आईएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई नगद २० लाख सहयोग गरेको छ । एक कार्यक्रमका बीच बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए । कोभिड १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरसविरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।
बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरूमा सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ । उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्ट, भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलगायत अन्य प्रदेश सांसदको उल्लेखीय उपस्थिति थियो ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ७० करोड २६ लाख १४ हजार आठ सय ९४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही बैकले एक अर्ब ८७ करोड २१ लाख २४ हजार पाँच सय १२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई खर्ब एक अर्ब ५९ करोड ६९ लाख ९९ हजार पाँच सय ४४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब १८ करोड ८४ लाख एक हजार नौ सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ३३ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ६८ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।