काठमाडौं, असार २५
सरकारले कोरोना परीक्षणको शुल्क लिएको फेला परेमा कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत शुल्क लिने गरेको मन्त्रालयमा जानकारी आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम लिएको पुष्टि भएमा कारबाही गर्ने प्रष्ट पारेको हो ।
‘सरकारी खर्चमा नै कोरोनाको परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारबाही गरिने छ’, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने । मन्त्रालयले अत्यावश्यक कामका लागिभन्दा बाहेक घरबाहिर ननिस्किन र भीडभाड नगर्न नागरिकलाई अनुरोधसमेत गरेको छ । बन्दाबन्दी खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्त्याउने मन्त्रालयको भनाइ छ ।
यस्तै, मन्त्रालयका अनुसार मंगलबारदेखि बुधबार दिउँसोसम्मको २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा सात जनामा कोरोना सङ्क्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा चार हजार ६ सय ९६ जनाको नमूना परीक्षण गर्दा दुई सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिलेसम्म दुई लाख ६६ हजार ४ सय ५७ जनाको नमूना परीक्षण भइसकेको छ । हाल क्वारेन्टाइनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६३६ जना रहेका छन् ।
कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २ सय ५३ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ७ सय ५२ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ४७ दशमलव दुई प्रतिशत निको भएका छन् ।