काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८८ औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८१ साल कात्तिक ३० गते आफ्नो ८७औँ वर्ष पूरा गरी ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको हो । उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले गरेका थिए ।
नेपालभर दुई सय २९ वटा शाखाहरू, दुई सय पाँच वटा एटीएम मेसिन साथै ६० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २५ लाखभन्दा बढी ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बंैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । करिब नौ लाखभन्दा बढी ग्राहकहरूले डिजिटल प्रविधिमार्फत बैंकिङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।