दोलखा । गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ को लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्णरूपले सञ्चालनमा ल्याउन समयसँगै खर्च पनि धेरै लाग्ने भएको छ ।
आयोजनाको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी विद्युत् उत्पादनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन एक अर्ब ८० करोडभन्दा बढी खर्च लाग्ने आयोजनाका प्रमुख प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए । उनका अनुसार हाल केही मर्मत गरेर आंशिकरूपमा भए पनि बिजुली उत्पादन थाल्ने योजना रहेको छ । आंशिक उत्पादन सुरु गर्न पनि थप दुई साता समय लाग्ने उनले बताए । बाढीबाट भएको क्षतिका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई आयोजनाले एक अर्ब ७९ करोड छ लाख ९६ हजार रूपैयाँ बराबरको बीमा दाबी गरेको छ ।
आयोजनाको पुनर्निर्माण गर्न करिब एक वर्ष समय लाग्ने भएकाले आयोजनाको आंशिक उत्पादन रन अफ द रिभर मोडलमा मंसिर पहिलो सातादेखि गर्ने लक्ष्य राखेको प्रबन्धक रञ्जितले बताए । उनका अनुसार केही ढुङ्गा तथा फोहोरहरू सफा गरेर विद्युत् केन्द्रमा रहेका दुई वटा बालुवा थिग्र्याउने पोखरीमध्ये आंशिकरूपमा क्षति भएको एउटा पोखरी तथा पानी बग्ने नहरको सामान्य सिभिल मर्मत कार्य सम्पन्न गरी आंशिक विद्युत् उत्पादन गर्न लागिएको हो । पुनर्निर्माणको विस्तृत डिजाइनको काम एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले गरिरहेको छ । पुनर्निर्माणमका लागि ११ महिना समय लाग्ने अनुमान गरिएको छ । आयोजनाको प्लानिङ साइटमा रहेका ढुङ्गा र थुपारेको स्प्रे हटाउने काम एसएस सिई हाई हिमालयन इन्जिनियरिङ जेभीले गरिरहेको छ ।
बाढी पहिरोले आयोजनाका बाँधतर्फका अधिकांश संचरनामा क्षति पुुगेको छ भने सिभिल तथा हाइड्रोइलेक्ट्रिक मेसिनरी तथा उपकरणमा क्षति हुँदा करोडौँको घाटा भएको छ । बाढीका कारण विद्युत् उत्पादन बन्द हुँदा असोजमा मात्रै ८५ करोडभन्दा बढी र कात्तिक महिनामा २१ करोडभन्दा बढी बराबरको घाटा भएको आयोजनाको अनुमान छ । गत असोज ११ र १२ गते माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको लामाबगरस्थित हेडवक्र्स क्षेत्रमा लेदोसहितको पहिरो खस्दा दुई तले कन्ट्रोल विल्डिङ पुरिएको थियो । पहिरोले बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर), बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष र बाँधबाट डिस्यान्डरसम्म पानी प्रवाह गर्ने भूमिगत नहर (कल्भर्ट)लगायतका संरचनामा ठूलो क्षति पुगेको थियो भने पहिरोमा परेर उक्त आयोजनामा मात्र चार जनाले ज्यान गुमाएका थिए ।