काठमाडौँ । दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् । देउवाले ढुङ्गानाको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको बताएका छन् । ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेलेको स्मरण गर्दै सभापति देउवाले उनको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताए । दिवङ्गत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मीहरुको उपस्थिति छ । सानो गौचरनमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।