काठमाडौं । आइतबार दिवंगत भएका पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरिरलाई सोमबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका दुई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख भएका थिए । ढुंगानाको निधनको शोकमा सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीलाई सानोगौचरनमा राखिएको थियो । श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति, नेपाली कांग्रेसका सभापति, नेकपा माओवादी केन्द्रका अध्यक्ष, एकीकृत समाजवादीका अध्यक्ष, जसपाका अध्यक्षलगायत पुगेका थिए ।