काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौं बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको छ । काठमाडौंको बौद्धस्थित ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उत्कृष्ठ करदाताको रूपमा सम्मान गरेको हो । होटल यसअघि पनि पर्यटनतर्फ सबैभन्दा बढी कर तिर्नेमा कम्पनीका रूपमा पटक–पटक सम्मानित भइसकेको छ । नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यस होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्याइरहेको छ । दश वर्षे द्वन्द्व सुरु हुनुभन्दा अघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरम उत्कर्षमा रहेको समयमा सन् २००० बाट सञ्चालनमा आएको थियो ।
अप्ठ्यारो राजनीतिक र आर्थिक परिस्थितिबीच होटलको सञ्चालन केही वर्ष घाटामै रहेको र मुलुकमा शान्ति स्थापना भएपछि छोटो समयमा नाफामा जान सक्षम भएको हो । होटलले यसअघि आर्थिक वर्ष २०७१/७२, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सम्मानित भइसकेको छ । साथै, होटललाई नेपाल सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेबापत विसं २०७६ मा सम्मानित गरेको थियो ।