काठमाडौं । सबैभन्दा बढी आयकर दाखिला गरी नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकाले आन्तरिक राजस्व विभागले टेलिकमलाई सम्मान पत्र प्रदान गरेको हो ।
राष्ट्रिय कर दिवस २०८१ को अवसरमा शनिबार आयोजित एक कार्यक्रमका बीच टेलिकमलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन् । टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सो सम्मान ग्रहण गरेकी थिइन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सो अवसरमा नेपाल टेलिकमसहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो ।