काठमाडौं, असार २६
सिन्धुपाल्चोकको बाह्रबीसेमा भीषण बाढीमा परी दर्जन बढी बेपत्ता भएका छन् भने केहीको शव भेटिएको छ । प्रहरीका अनुसार बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् ।
यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ । यसैबीच, सभामुख अग्निप्रसाद सापकोटा, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल पनि हेटौँडाबाटै बाह्रबीसे पुगेका थिए । उक्त घटनामा घाइते भएका चार जनालाई भने बिहीबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
कैलाश एयरको हेलिकोप्टरबाट कैलाश तामाङ, फुर्बा तामाङ, सविता बस्नेत र १० दिनको बच्चालाई उपचारका लागि ल्याइएको हो । उनीहरुको राजधानीमा उपचार भइरहेको छ । यसैबीच, नेपाली काँग्रेसले बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी र अन्य नदीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले बाढीका कारण जीवन गुमाउने व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।