सुदूरपश्चिम । नेपाल प्रेस युनियन, कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताएका छन् ।
गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट पारे ।
गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दलबीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको बताउदै मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गरे ।
उनले भने,“प्रमुख दुई पार्टीबीच आपसमा कुनै समस्या सिर्जना नहोस् भनेर केन्द्रदेखि जिल्ला तहसम्म दुवैतर्फका प्रतिनिधि सम्मिलित संयुक्त संयन्त्र बनाइएको छ, अराजकता र अस्थिरताको अन्त्यसहित राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा अघि बढेको सरकारलाई अब कसैले रोक्न सक्दैन ।”