काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
करिब ११ महिनादेखि रिक्त रहेको बोर्डको अध्यक्ष पदका लागि राजनीतिक खिचातानीका कारण सरकारले नियुक्त गर्न सकेको थिएन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार तीन जनाको नाम छनोट गरेको थियो । समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो ।
२०८० पुस २०मा रमेशकुमार हमालको पदावधि सकिएपछि उक्त पद खाली थियो । पद खाली रहँदा बोर्डले गर्नुपर्ने कामहरू प्रभावित हुँदै आएको छ । श्रेष्ठको नियुक्तिसँगै अब पुँजीबजारको विकास र हालसम्म रोकिएका दीर्घकालीन महत्वका काम अगाडि बढ्नेछन् ।
स्याङ्जाको भिरकोटमा जन्मिएका सन्तोषनारायण श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका छन् । व्यावसायिक पृष्ठभूमिका श्रेष्ठ सन् २०१६ भन्दा अघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य थिए ।