काठमाडौं । भुक्तानी प्रदायक सेवा कम्पनी कम्पनमा कार्यरत कर्मचारीहरुबाट खतरामा परेको छ । वालेटकै कर्मचारीहरुका कारण वालेटका ग्राहकहरुको व्यक्तिगत गोपनीयता भङ्ग हुने क्रम बढेपछि कम्पनीहरुलाई कर्मचारीबाट नै असुरक्षा भएको हो । प्रहरीले वालेटको केवाईसी रुजु गर्नै वालेटकै तीन कर्मचारी पक्राउ गरेसँगै यस्तो असुरक्षाको पुष्टि भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार केवाईसी (नो यो कस्टुमर) रुजु गर्ने विभागकै तीन कर्मचारीहरु पक्राउ परेका हुन् ।
कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार धादिङको ज्वालामुखी गाउँपालिका वडां नं ५ घर भई हाल काठमाडौंको तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नं ४ घर भई हाल काठमाडौंको कलंकी बस्ने २२ वर्षीय सविनकुमार कुमाल र रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ घर भई हाल काठमाडौंको पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेतलाई आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक जिसीका अनुसार वालेटका ग्राहकहरुको केवाई रुजु गर्ने विभागका कर्मचारीहरुले वालेटका सेवाग्राहीहरुले आफ्नो वालेटको केवाईसी भेरिफाई गर्नको लागि अपलोड गरिएका विवरणहरुबाट फोटो, नागरिकताको प्रतिलिपीलगायतका विवरणहरु डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरुको नाममा फरक–फरक मोबाइल नम्बरहरुबाट ५५ वटाभन्दा बढी वालेटहरु गैरकानुनीरुपमा खोली उक्त वालेटहरुलाई भेरिफाई गरी आर्थिक कारोबार गरेको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक जिसीका अनुसार ती व्यक्तिहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका तिनै व्यक्तिहरुलाई आपराधिक विश्वासघात गर्न नहुने कसुरमा कानुनबमोजिम आवश्यक अनुसन्धान एवं कारोबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । सम्बन्धित कम्पनीले आफ्नै कार्यालयका कर्मचारीहरुले गरेको बदमासीको बारेमा लिखित उजुरी दिएपछि ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।