काठमाडौं, असार २६
कृषि विकास बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको छ । बैंकका अनुसार सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र स्टकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउदले हस्ताक्षर गरका हुुन् । सम्झौतापश्चात् कृषि विकास बैंकको एडीबीएल कृषि बैंक ऋणपत्र २०८३, को दोस्रो बजारमा कारोबार सुरु हुनेछ । सो अवसरमा बैंकका कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख उमेश पञ्जियार, नेपाल स्टकका प्रविन पन्ढाक, कुलचन्द्र रिजाल र एनआईबीएलएस क्यापिटल लि.का सञ्चालन अधिकृत रामकुमार महतको समेत उपस्थिति रहेको थियो ।
बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७६।७७ का लागि जारी भएको मौद्रिक नीतिमार्फत ‘वाणिज्य बैंकहरूले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्यरूपमा ऋण पत्र जारी गर्नुपर्ने व्यवस्था गरिनेछ ।’ भन्ने निर्देशन भएकोले उक्त निर्देशनको परिपालना स्वरूप जारी गरी नियमानुसार बाँडफाँड समेत भई सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको कृषि विकास बैंकको एक हजार अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन (डिबेञ्चर) १० दशमलव ३५ प्रतिशत ब्याजदर रहेको एडीबीएल कृषि बैंक ऋणपत्र २०८३, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको हो । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब चार करोड २३ हजार नौ सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २१ करोड २१ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३० अर्ब ५१ करोड ८६ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २१ अर्ब ३९ करोड ५७ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३६ करोड १८ लाख ६३ हजार रुपैयाँ रहेको बैंकमा तीन दशमलव ६५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकले एक खर्ब १८ अर्ब ८८ करोड ४९ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ८० करोड ६६ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ३० करोड १९ लाख ९४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।