विराटनगर । विराटनगरका मुख्य सडक र भित्री सडकहरुमा हिँड्दै गरेका मालवाहक सवारीसाधनहरुलाई मोरङ ट्राफिक प्रहरीले ‘ओभरलोड’को नाममा जरिबाना असुलेर दुःख दिनेगरेको उद्योगी तथा व्यवसायीले गुनासो गर्न थालेका छन् ।
सुनसरी–मोरङ औद्योगिक करिडोरको लागि कच्चापदार्थ बोकेर आएका मालवाहक सवारीसाधनहरुलाई मोरङ ट्राफिक प्रहरीले ओभरलोडको नाममा जरिबाना असुलेर दुःख दिनेगरेको हो । विराटनगर भन्सार कार्यालयबाट नापचाँज भएर मालवाहक गाडीहरु दैनिक दुई सय ५० हाराहारीमा सवारी साधन निस्किने गरेका छन । यसरी निस्कीएका मालवाहक सवारीसाधनहरुलाई ट्राफिक प्रहरीले ओभरलोडको नाममा दुई हजार रुपैयाँसम्म जरिबाना लिने र अनाहकमा रोकेर दुःख दिने गरेको भन्सार एजेन्ट संघका केन्द्रीय सचिव प्रविण जोशीले जानकारी दिए । गृह मन्त्रालयले २०७६ वैशाख २७ गते भन्सारबाट नापजाँच भएका मालवाहक सवारीसाधनहरुलाई सडकमा नरोक्नु भनेर पत्रचार गरेको भए पनि मोरङ ट्राफिकले रोक्ने र दुःख दिनेगरेको उनले बताए ।
‘ट्राफिक प्रहरीलाई मासिक बुझाएका व्यापारीको उद्योगमा आएको मालवाहक सवारीसाधानलाई कुनै पनि चेकजाँच हुँदैन’, एक भन्सार एजेन्टले भने । मोरङमा ट्राफिक प्रहरी प्रमुख भएर प्रहरी निरीक्षक राजन लम्साल आएपछि ट्राफिक प्रहरीले सवारीसाधानहरुलाई कुनै न कुनै बहाना बनाएर असुलीको धन्धा नै चलाएको पीडितहरुले बताएका छन् ।