वासिङ्टन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले शपथ लिने बित्तिकै क्यानडा, मेक्सिको र चीनबाट अमेरिका भित्रने सामानमा भारी कर लगाउने बताएपछि ती देशको मुद्राको मूल्यमा उच्च गिरावट आएको छ ।
मेक्सिकोको मुद्रा पेसोको मूल्य डलरको तुलनामा एक दिनमा एक दशमलव १८ प्रतिशतले घटेको छ । उही समयमा, क्यानेडियन मुद्रा क्यानेडियन डलर र अमेरिकी डलरको तुलनामा एक प्रतिशत कमजोर भएको छ । यो सन् २०२० को मेयता क्यानेडियन मुद्रामा आएको सबैभन्दा ठूलो गिरावट हो ।
चीनको मुद्रा युआनको मूल्यमा पनि उच्च गिरावट आएको छ । तर, यो मेक्सिकोको तुलनामा कम छ । चिनियाँ मुद्रा युआन डलरको तुलनामा शून्य दशमलव तीनि प्रतिशतले कमजोर भएको छ ।
वास्तवमा ट्रम्पले शपथ लिनेबित्तिकै क्यानडा, मेक्सिको र चीनबाट अमेरिका आउने सामानमा भारी कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले यी तीन देशले लागुऔषध र अवैध आप्रवासीलाई नियन्त्रण नगरेसम्म अमेरिकाले लगाएको भारी करको मार भोग्नुपर्ने बताएका छन् ।
ट्रम्पले सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै क्यानडा र मेक्सिकोमा २५ प्रतिशत ट्यारिफ लगाउने बताएका छन् । उनले क्यानडा र मेक्सिको दुवैले चाहेमा अवैध आप्रवासी र लागुऔषध (फेन्टानाइल) आपूर्तिलाई सजिलै नियन्त्रण गर्नसक्ने तर त्यसो नगरेको बताए । जसका कारण उनीहरुले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । यस्तै ट्रम्पले चीनबाट आउने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । जुन मेक्सिको र क्यानडामा स्थापित गरिएका भन्दा १० प्रतिशत बढी हो ।