काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि गरेको आरोप लगाएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गरी सिमेण्टलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि गरिएको जनाएको छ ।
महासंघका अनुसार विगत एक महिनाको अवधिमा नै पटक पटक गरी सिमेण्टमा प्रतिबोरा एक सयभन्दा बढी मूल्यवृद्धि भएको छ । ‘निर्माण कार्य हुने अहिलकै सिजनमा सीमित सिमेण्ट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभावलगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको छ’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खुला अर्थतन्त्रको नीतिविपरीत सिमेण्टमा गरिएको यस किसिमको अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको महासंघको भनाइ छ । ‘विगतमा पनि पटक–पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको विदितै छ’ विज्ञप्तिमा भनिएको छ ।
निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टलगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गर्न महासंघले सरकारसँग माग गरेको छ । मूल्यवृद्धि खारेज नभए महासंघ देशभरका निर्माण कार्य ठप्प पारी ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान गर्न बाध्य हुने जनाइएको छ ।