काठमाडौं । देश सधैँ घाटाको व्यापार गर्नुपर्ने नियतिमा छ । त्यो पनि कति भने महिनाको खर्बकै हिसाबमा आउने गरी देश घाटामा छ । त्यसमाथि अर्को उल्लेख्य पक्ष हो, जुन वस्तु करिबकरिब सबैभन्दा बढी निर्यात गरिन्छ । त्यसका लागि पनि आधाभन्दा बढी रकम त्यसको कच्चा पदार्थमा जान्छ, जो आयातमा नै पर्छ । अंकमा हिसाब हुँदा बितेको चार महिनामा चार खर्ब ६० अर्बको व्यापार घाटा भएको छ । यो भनेको महिनाको सवा खर्ब घाटा भएको अवस्था हो । यद्यपि पछिल्ला दिनहरूमा आयात व्यापार घटेको छ । आन्तरिक उत्पादन कम भएको देशमा राज्यको आम्दानीको मूलस्रोत नै आयात व्यापार । तर यो घटेर राष्ट्रिय आम्दानी नै लक्ष्यभन्दा धेरै कम हुने गरेको पनि तीन/चार वर्ष नै भइसकेको छ । आयातव्यापारका लागि चाहिने सबैभन्दा महत्वको वस्तु हो, विदेशी विनिमय मुद्रा जसको सञ्चिति पनि ठूलै छ । यो यति उच्च छ, यही चौमासिकमा आएका विवरणअनुसार अब त्यस्तो मुद्रा थोपोसम्म नआए पनि डेढ वर्षका लागि जत्रासुकै आवश्यकताहरू धान्न सकिन्छ तर पनि यता आयात व्यापार बढेको छैन तर घाटा भने थपिइरहेको छ । निश्चय नै यो सामान्य अवस्था होइन ।
चालू आर्थिक वर्षको यो चौमासिकमा आयात र निर्यात व्यापारमा व्यापक सुधार आएको भन्ने सरकारी निकायले दाबी गरेका छन् । यस्तो सुधार होस् भन्ने अपेक्षा पनि हो । आयात व्यापारमा सुधार भयो भने राष्ट्रको आम्दानी बढ्छ । निर्यातमा सुधार आएको खण्डमा व्यापार घाटा घट्छ । तर दुवैतर्फ सुधार भएको भनिएकै समयमा मुलुकको व्यापार घाटा भने बढेको बढ्यै छ । यस्तो सिक्न हुँदैछ भन्ने प्रश्न भने निरुत्तरित नै रहने गरेको पाइन्छ । तत्कालको व्यापारको अवस्थाका बारे भन्सार विभाग भन्छ साउनदेखि कात्तिकसम्ममा पाँच खर्ब ६६ अर्ब पाँच करोड रुपैयाँको वैदेशिक कारोबार भएको छ । त्यसमध्ये चार महिनामा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ भने निर्यात भने ५२ अर्ब ६७ करोड सात लाख रुपैयाँमा सीमित रहेको छ । कहाँ पाँच खर्ब र कहाँ पचास अर्ब । व्यापार असन्तुलनको यो खाडल सामान्य होइन । हो विगतको तुलनामा भने केही साना अन्तरहरू देखिन्छन् । विभागका अनुसार गत आव २०८०/८१ को तुलनामा यो वर्षको चार महिनामा शून्य दशमलव ५३ प्रतिशतले कारोबार बढेको देखिएको छ । जस्तो आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले वृद्धि भयो । विभागको तथ्याङ्कअनुसार गत वर्ष यही अवधिको चार महिनामा पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँको आयात भएको थियो भने ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको निर्यात भएको थियो ।
अघिल्लो वर्ष चार खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँको व्यापार घाटा भएको यो वर्ष चार खर्ब ६० अर्ब ७१ करोड रुपैयाँको व्यापार घाटा भएको तथ्याङ्कले देखाएका छ । यो भनेको अघिल्लो वर्षको तुलनामा घाटा अङ्क एक अर्बले कम हो । प्रतिशतमा हिसाब हुँदा कुल आयात–निर्यातमा आयातको हिस्सा ९० दशमलव ७० प्रतिशत निर्यातको हिस्सा नौ दशमलव ३० प्रतिशत मात्र रहेको देखिन्छ । यसको अर्थ हो निर्यात बढाउनका लागि राज्यले अवलम्बन गरेका नीति र तर्जुमा गरेका कार्यक्रमहरू कामलाग्दा भएनन् । यसको पुनर्विचार हुन आवश्यक छ । त्यसो भएन भने सधैँ घाटाको व्यापार देशको स्थायी नियति बनिसकेको भन्नुपर्ने हुन्छ ।