काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले एड्भेन्चर टुरिङ बाइक ४५० एमटीको डेलिभरी गर्नुका साथै उनीहरूका बीच एक सेलिब्रेसन कार्यक्रम आयोजना गरेको छ ।
गत भदौमा सम्पन्न नाडा अटो शोमा पहिलो पटक प्रदर्शन गरिएको सो बाइक केही समयपछि बिक्री प्रारम्भ गरिएको थियो । त्यसपछि डेलिभरी दिन सुरु गरिएको बाइक धनीहरूका बीच एक प्रकारको सहकार्यका लागि समेत सो समारोह आयोजना गरिएको हो । डेलिभरी, सेलिब्रेसन र गफगाफका लागि सो कार्यक्रम सानेपास्थित इन्टरनेसनल क्लबमा आयोजना गरिएको थियो । आगामी दिनमा पनि यस्तो कार्यक्रम गरिने ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीले बताए । हालसम्म ५० भन्दा बढी बाइक डेलिभरी दिइएको र आगामी दिनमा अन्य बाइक समेत डेलिभरी गरिने उनले जानकारी दिए ।
सो नयाँ मोटरसाइकलमा चार सय ४९ दशमलव पाँच सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्णरूपमा डिजिटल छ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ, जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फोलगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् ।