काठमाडौं । मोरङ उद्योग व्यापार संघले सरकारले हालै गरेको भन्सार महसुल परिमार्जनले मुलुकको औद्योगिकीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको जनाएको छ । सरकारले मार्वल, ग्रेनाइट, चाँदी, सुन तथा दालहरू आयात गर्दाको भन्सार महसुल, अन्तःशुल्क तथा अग्रिम आयकरका दरहरूमा परिमार्जन गरेको छ ।
संघका अध्यक्ष अनुपम राठीले विज्ञप्ति जारी गरी संघको माग एवं समय सान्दर्भिक तवरले भन्सार महसुल परिमार्जन गरेको उल्लेख गरेका छन् । मार्वल र ग्रेनाइटको भन्सार महसुल न्यूनीकरण तथा अन्तःशुल्क खारेज गर्ने सरकारको सो निर्णयले वर्षौंदेखि बन्द रहेका १७ भन्दा बढी स्वदेशी मार्बल र ग्रेनाइट उद्योगहरू सुचारु हुने बाटो खुलेको संघले जनाएको छ । साथै, लगानीकर्ताहरूको ठप्प रहेका पुँजी चलायमान हुने, स्वदेशी उत्पादकत्व अभिवृद्धि हुने, हजारौँले गुमाएका रोजगारी पुनर्जीवित हुने, विद्युत्को स्वदेशी खपत अभिवृद्धि हुने तथा मुलुकको औद्योगिकीकरणमा सकारात्मक प्रभाव पर्ने वातावरण सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।
चाँदी र सुनको भन्सार महसुल न्यूनीकरण गरिएकोमा सो वस्तुहरूको स्वदेशी कारोबार फस्टाउने, अवैध कारोबार एवं अनैतिक गतिविधिहरू अन्त्य हुने तथा अनधिकृत पुँजी पलायनका खतरा समेत नियन्त्रण हुने संघले जनाएको छ । यस्तै, दालको आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम आयकरलाई २.५ प्रतिशत कायम गरिएको हुँदा हाल उपभोक्ताहरूलाई परिरहेको भार न्यूनीकरण हुने संघले उल्लेख गरेको छ । साथै, आगामी दिनमा समेत मुलुकको खस्किँदो औद्योगिक÷व्यावसायिक वातावरणको संरक्षणार्थ सरकारले यसै प्रकारका उद्योग–व्यवसायमैत्री नीति–निर्देशनहरू अवलम्बन गर्दै जाने अपेक्षा लिएको जनाएको छ ।