काठमाडौं । नेप्लिज योङ इन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर ७ गते पाटन कलेज फर प्रोफेसनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले बताएका छन् ।
यस वर्षको प्रतियोगिताका लागि नेपालभरका एक सय ७० भन्दा बढी स्टार्टअपहरू दर्ता भएका छन् । उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरसिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको थियो । कार्यक्रमको सुरुवात एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको स्वागत सम्बोधनबाट भएको थियो जसमा उनले स्टार्टअपहरूलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरसिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरहरूलाई प्रस्ट पारेका थिए । कार्यक्रमको समापन एनवाईईएफ नेसनल गभर्निङ काउन्सिलकी कार्यकारी सदस्य विलाषा श्रेष्ठको सम्बोधनबाट भएको थियो ।
कार्यक्रमबारे थप प्रकाश पार्दै बिटुबी सेसनले सहभागीहरूलाई समान विचारधाराका उद्यमीहरू र सम्भावित साझेदारहरूसँग नेटवर्किङ गर्ने अवसर पनि प्रदान गरेको थियो । हाई–टी सेसनका साथ समापन भएको कार्यक्रममा अनौपचारिक अन्तरक्रिया र नेटवर्किङका लागि पनि उपयुक्त वातावरण बनेको थियो । ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० केवल एक प्रतियोगिता मात्र होइन । यो पाँच लाख रुपैयाँभन्दामाथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म पनि हो । यस वर्षको बलियो सुरुवातले अर्को सफल संस्करणको संकेत गरेकोे छ ।
प्रतियोगिताका आगामी चरणहरू र थप जानकारीका लागि एनवाईईएफका सुचनाहरू निरन्तर अवलोकन गर्न फोरमले अनुरोध गरेको छ । नेपाली स्टार्टअपहरूको महत्वाकांक्षालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता एनवाईईएफले व्यक्त गरेको छ । ग्लोबल आईएमई बैंकले एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० बारे थप जानकारीका लागि आधिकारिक इभेन्ट पेज हेर्न अनुरोध थरेको छ ।