काठमाडौं, असार २८
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डमा गरेको विज्ञ मनोनीतसम्बन्धी निर्णय सच्याउन सत्तारुढ नेकपासम्बद्ध व्यवसायी संघले आग्रह गरेको छ । श्रममन्त्री रामेश्वर राय यादवले बोर्डको विज्ञको रुपमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का र मेनपावर व्यवसायी हेम बहादुर गुरुङलाई मनोनीत गर्ने निर्णय गरेपछि नेपाल कम्युनिष्ट पार्टीनिकट व्यवसायी संघले सोको विरोध गरेको हो । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी चरम आर्थिक शोषण गर्ने कार्यका मुख्य मतियारलाई बोर्डको विज्ञको रुपमा मनोनयन गरेको भन्दै मन्त्रालयलाई सच्याउन आग्रह गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले भनेको छ, ‘विशेषगरी मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी चरम आर्थिक शोषण गर्ने कार्यका मुख्य मतियारको मनोनयनप्रति मञ्च घोर भत्र्सना गर्दछ ।’ मञ्चका संयोजक राम प्रसाद भन्तना तथा सह–संयोजक राजेन्द्र भण्डारीले जारी गरेको विज्ञप्तिमा मन्त्रालयको सो निर्णय तत्काल नसच्चिए कडा कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्णय तत्काल नसच्याए सो निर्णयको प्रतिरोध गर्नका लागि कडा कदम चाल्न बाध्य हुनेछौँ ।’ व्यवसायी गुरुङले भने विज्ञको रुपमा बोर्डमा बस्न नसक्ने धारणा सार्वजनिक गरिसकेका छन् । अध्यक्ष खड्काले भने सो विषयमा आफ्नो धारणा बाहिर ल्याएका छैनन् ।