काठमाडौं, असार २८
अन्तर्राष्ट्रिय ब्राण्डको केएफसी रेष्टुराँमा भित्रै नछिरी बाहिरबाट त्यहाँको परिकार किनेर लैजाँदा पनि ग्राहकले दश प्रतिशत सर्भिस चार्ज तिरिरहनुुपरेको छ । कोरोना महामारीका कारण जारी लकडाउन केही खुकुलो भएपछि सरकारले असार १ गतेदेखि रेष्टुरेन्टहरुलाई खोल्न दिएर टेक वे (प्याकिङ लैजाने) सुविधा दिएको थियो । त्यसपछि काठमाडौं उपत्यकाका रेष्टुरेन्टहरु आशिंकरुपमा खुुलेका छन् तर रेष्टुरेन्टमा बसेर खाने सेवा सुविधा दिइएको छैन ।
ग्राहकले आफूलाई चाहिएको परिकार सामाजिक दूरी कायम गरी बाहिरैबाट अर्डर गर्ने र बिल तिर्ने गर्नुुपर्दछ र अर्डरअनुसारको परिकारको प्याकिङ लिएर जानुुपर्ने हुन्छ । यस्तो अवस्थामा ग्राहकलाई रेष्टुरेन्टले कुुनै सेवा गर्नुुपर्ने हुुँदैन । त्यही कारण दरबारमार्गमा रहेको ओपीएम रेष्टुरेन्टले ग्राहकसँग १० प्रतिशत सेवाशुल्क नलिने सूचना नै जारी गरेको छ । तर होटल अन्नपूर्णसँगै रहेको अन्नपूर्ण आर्केडमा रहेको केएफसीले चाहिँ लाजहीन पचाएर ग्राहकसँग दश प्रतिशत सर्भिस चार्ज उठाइरहेको छ । भारतीय नागरिक रविकान्त जयपुरियाले चलाएको दरबारमार्ग लगायत महाराजगञ्ज, ललितपुर, बौद्धलगायतका क्षेत्रमा पनि शाखा रहेको केएफसीमा दैनिक २० लाखजतिको व्यापार हुुने गर्छ ।