काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले बिहान एक बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढाएको छ ।बढेको मूल्यअनुसार, पहिलो वर्गमा पेट्रोल प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्गमा एक सय ६० रुपैयाँ तोकिएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललगायतका स्थान छन् ।निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निमगले जनाएको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले वृद्धि भएको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।