काठमाडौं । नेपालमा किक्रेट महोत्सवको रूपमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) फ्रेन्चाइज प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेल हेर्न दर्शकहरूको उत्साहजनक सहभागिता थियो । विदेशी खेलाडी समेतको सहभागितामा हुन लागेको लिग हेर्न दर्शकहरूको ओइरो लागेको हो । प्रतियोगिताको लागि क्यानले कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई दुलहीझैँ सिङ्गारेको छ । यस्तै आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरेको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ । एनपीएलमा विश्वचर्चित स्टार खेलाडीको पनि सहभागिता रहेको छ । विश्वचर्चित भारतीय खेलाडी शिखर धवन, न्युजिल्यान्डका मार्टिल गप्टिल, जिम्मी निसम र बेन कटिङजस्ता टी–२०का स्टार खेलाडीले एननपीएलमा सहभागिता जनाएपछि यस प्रतियोगिताले निकै चर्चा पाएको छ । एनपीएलका लगानीकर्ताले विदेशी खेलाडी किन्न ठूलो लगानी गरेका छन् । यद्यपि उनीहरूले विदेशी खेलाडीलाई दिएको रकम भने खुलाएका छैनन् ।
फ्रेन्चाइज टिम किन्नकै लागि उनीहरूले करिब तीन करोड रुपैयाँसम्म खर्च गरेका थिए । पोखरा एभेन्जर्सले करिब तीन करोड ५७ लाख रुपैयाँमा फ्रेन्चाइज किनेको थियो । यस्तै, कम खर्च गर्नेले पनि कम्तीमा एक करोड रुपैयाँभन्दा माथि रकममा फ्रेन्चाइज दरिद गरेको थियो । यस्तै, एनपीएलमा उत्कृष्ट हुने नेपाली खेलाडीले कार पाउनेछन् । त्यस्तै, क्यानले प्रतियोगिताको विजेता टोलीलाई एक करोड एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । यस्तै, उपविजेताले ५० लाख पाउनेछने भने तेस्रो र चौथो हुनेले क्रमशः ३० लाख र २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने उक्त खेलको प्रत्यक्ष प्रसारण ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ ।
यस्तै, एनपीएलमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट पाउने भएका छन् । क्यानका अनुसार विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने भएको हो । प्रतियोगितामा जनकपुर बोट्ल्स, विराटनगर किङ्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।
उद्घाटन खेलमा जनकपुर विजयी
एनपीएलको उद्घाटन खेल शनिबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर वोल्ट्स र विराटनगर किङ्सबीच खेल भएको थियो । उद्घाटन खेलमा जनकपुर बोल्ट्स ८ विकेटले विजयी भएको छ । टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरू मिलन्थाले अर्धशतक पारी खेले । उनले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । यस्तै विदेशी खेलाडी हर्ष थाकेरले अविजित रहँदै २९ रन जोडे । कप्तान अनिलकुमार साहले पाँच रन बनाए भने आशिफ शेख शून्य रनमै पवेलियन फर्किए ।
बलिङतर्फ विराटनगरका लागि विदेशी खेलाडी क्रिस सोले र प्रतिश जिसीले एक/एक विकेट लिए । विराटनगरले जनकपुर बोल्ट्सलाई २२ रन अतिरिक्त दिएको थियो । त्यसअघि पहिला ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो । विराटनगर किङ्सका लागि विदेशी खेलाडी मार्टिन गप्टिलले अर्धशतक पारी खेले । उनले ४३ बल खेल्दै एक छक्का सात चौकाको मद्दतमा ५५ रन बनाए । यस्तै अकिब इलियासले १५, निकालेस किर्तनले नौ, लोकेश बलमे पाँच तथा बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान सात÷सात रन बनाए । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै, किशोर महतो र हर्ष थाकरेले समान दुई÷दुई तथा मोहमद मोहसिन र बेन माइकले समान एक–एक विकेट लिए ।
जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरले न्युजील्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । न्युजील्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलंकाली मूलका खेलाडीहरू मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इंग्ल्यान्डका अलराउन्डर बेन माइक छन् । जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके हुन् ।
यसैगरी विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने हुन् । विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्युजील्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् । टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् ।