काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैँकलाई एक नम्बर बैँक बनाउनेगरी कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुराहरूलाई रुपान्तरण गरी अग्रणी बैँक बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरूलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे । सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैंक बनाउन आग्रह गरे ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले ब्याजदरमा अहिले भइरहेको एकल अंकको ब्याजदरलाई स्थिर बनाउन आवश्यक रहेको बताए । लिने समयमा एकल अंकको व्याजदर भए पनि समयसँगै बढ्दै जाने विगतको अभ्यासले आफूहरूलाई सदैव झक्झकाइ रहेको बताए । उनले बैँकले सेवा क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेका कारण आफूहरूमा आशाको सुरुवात गराएको भन्दै व्याजदरमा उद्योगी व्यवसायीहरूलाई सुनिश्चितता भए ढुक्कसँग लगानी गर्न आफूहरू तयार रहेको तर्क गरे । यसैगरी कार्यक्रममा बुटवल उपमहानगर पालिकाको वडा नं ४ का वडाध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरू पार गर्न राष्ट्रिय वाणिज्य बैँकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय सरकारको हैसियतले बैँकलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैँकको सेवा प्रवाहमा सुधारको सुरुवात भइरहेकोप्रति खुसी व्यक्त गरे । सरकार र निजी क्षेत्रबीचको खाडल न्यूनतम बनाउन वाणिज्य बैँकले काम गर्ने समय आएको बताए । सेवाग्राहीले चाहेकोजस्तो सेवा प्रवाह गर्न सके सेवाग्राहीको प्यारो बैँक बन्नेमा कसैको दुईमत नरहेको तर्क गरे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका अध्यक्ष दिलिप कुमार ढुङ्गानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरू प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जालगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफूहरू सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दाबी गरे । उनले लघु उद्यम, किसानसँग वाणिज्य बैँक जस्ता कार्यक्रमसँगै वित्तीय पहुँचको विस्तारका लागि शाखा विस्तारलाई तीव्रताका साथ अगाडि बढाएको बताए । सबैको साथ सहयोग र सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको भन्दै उनले समग्र अर्थतन्त्र सुधारमा सहयोग पुग्नेगरी आफूहरूले कार्यक्रमहरू अगाडि बढाएको जिकिर गरे ।
यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैँकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए । उनले वित्तीय साक्षरता, सामाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग वाणिज्य बैँकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए । प्रतिस्प्रर्धी बजारको मागअनुसार बैँकले सेवा र सुविधाहरूलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैँकले आफ्नो कार्यलाई परिमार्जितरूपमा अगाडि बढाएको बताए ।
साझा प्रतिबद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैँकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैँक उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे । देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बाबजुद बैँकले आफ्ना सूचकहरूलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराए ।