बुटवल, असार २८
रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय उन्नति लघुुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीमा केन्द्रीय कार्यालय रहेको सहकार्य लघुुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्थाहरूले मर्जरमार्फत २६ गते शुक्रबार एक औपराचिक कार्यक्रम गरी उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्नको लागि दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले गत फागुुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्टर्डको कार्यालयले भने एकीकृत कारोबारको लागि जेठ १९ गते स्वीकृति दिएको थियो । दुवै निकायबाट स्वीकृति पाएपछि संस्थाले एकीकृत कारोबारको मिति घोषणा गरेसँगै पूर्वनिर्धारित मिति असार २६ गतेबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
१५ वटा जिल्लामा लघुवित्तसम्बन्धी कार्य गर्दै आएको उन्नति र दश जिल्लामा लघुुवित्तसम्बन्धी कार्य गर्दै सहकार्यबीच भएको भएको मर्जपश्चात् बनेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ३० करोड रुपैयाँ अधिकृत पुँजी, १४ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी, दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी कर्जा लगानी, ८० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन हुनुका साथै ५० हजारभन्दा बढी सेवाग्राही पुग्नेछन् ।
५५ वटा शाखा कार्यालयहरुमार्फत २५ जिल्लामा सेवा प्रवाह गर्ने संस्थामा तीन सयभन्दा बढी कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाउनेछन् । मर्जरपछि बनेको एकीकृत संस्था उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा साबिकको उन्नतिकी अध्यक्ष अनिता ढुङ्गाना शाह र प्रमुख कार्यकारी अधिकृत साबिकको उन्नतिका प्रेम बहादुर पाठक रहने व्यवस्था भएको प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले जानकारी गराए । पाठकले संस्थाको केन्द्रीय कार्यालय रुपन्देहीको भैरहवामा रहने बताए ।