दोलखा । स्थानीय तहमा रिक्त रहेका विभिन्न ४१ पदका लागी भएको उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । आइतबार सम्पन्न मतदानमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार सात सय ९९ मतदाता रहेको थिए । यस्तै, उपनिर्वाचन प्रयोजनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटा राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको थियो । ओखलढुङ्गा र कैलाली जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल)को मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो । यस्तै, रूकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको मात्र अन्तिम उम्मेदवारी कायम भएको थियो ।
एक/एक जना उम्मेदवारी कायम भएकोबाहेक नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी तीन सय ७६ जना उम्मेदवार रहेका थिए ।
मतदान कार्य समाप्त भई मतपेटिका सुरक्षितरूपमा सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्याले जानकारी दिइन् । उनका अनुसार एउटा मात्रै मतदानस्थल रहेका १५ वटा वडाको वडाध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ । यस्तै, अन्य स्थानमा सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरी मतगणना हुनेछ । मतगणना स्थलमा मतपेटिका ल्याइसकेपछि लगत्तै स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशनबमोजिम मतगणना प्रारम्भ हुने आयोगले जनाएको छ । मतगणनाको परिणाम आयोगको वेबसाइटमा पनि हेर्न सकिने छ ।
अयोगले यस निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सहयोग, समन्वय र सहकार्य गर्ने सबै सरोकारवाला निकायहरुलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, मतगणनाको कार्यलाई सुव्यवस्थितरूपमा सञ्चालन गर्ने गराउने कार्यमा समेत सबै सरोकारवालाको सहयोग हुने आयोगले विश्वास लिएको जनाएको छ ।
दोलखाको गौरीशंकरमा ४८ प्रतिशत मात्र मतदान
सुबास बस्नेत दोलखा । स्थानीय तह उपनिर्वाचन दोलखाको गौरीशंकर गाउँपालिकामा ४८ प्रतिशत मात्र मतदान भएको छ । गौरीशंकर गाउँपालिकाको रिक्त रहेको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ४८ दशमलव २८ प्रतिशत मात्रै मत खसेको हो ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार सो पालिकामा कुल १५ हजार सात सय १८ मतदाता रहेका छन् । तीमध्ये सात हजार पाँच सय ८९ जनाले मात्रै मतदान गरेका हुन् । गौरीशंकरमा मतदानका लागि १२ मतदानस्थलमा २१ मतदान केन्द्र निर्धारण गरिएको थियो । निर्वाचन भने शान्तिपूर्णरूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । गौरीशंकरमा उपाध्यक्ष पदका लागि सात राजनीतिक दलका सात जना र स्वतन्त्र नौ जना गरी १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । मतगणना भने सोमबारबाट हुने मुख्य निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले जानकारी दिए । सबै मतपेटिका संकलन गरेपश्चात मात्रै मतगणनाको कार्य थालिनेछ । गौरीशंकरको केही मतदानस्थलका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउनुपर्ने भएकाले सोमबार मात्रै मतगणना कार्य थालिने उनले बताए ।
२०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । उनको हृदयाघातका कारण गत वर्ष निधन भएपछि उक्त पदमा आइतबार मतदान भएको हो ।