सुबास बस्नेत
दोलखा, असार २८
लकडाउनका कारण बन्द भएका सामुदायिक तथा निजी विद्यालयका शिक्षक हिजोआज विद्यार्थीको गाउँघर धाउनथालेका छन् । कोरोना न्यूनीकरण गर्न सरकारले देशका सामुदायिक तथा निजी विद्यालय बन्द गरेको करिब चार महिना पुग्नथालेको छ ।
पछिल्लो समय दोलखाका सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीको शैक्षिक अवस्था बुझ्न र वैकल्पिक शिक्षा दिन विद्यार्थीको गाउँ पुग्ने गरेका छन् । विद्यार्थीलाई वैकल्पिक शिक्षामा जोड्ने उद्देश्यले विद्यार्थी र अभिभावकसँग छलफल गर्न विद्यार्थीको घरसम्म पुग्ने गरेको कालीढुङ्गा माध्यमिक विद्यालयका प्राध्यापक पुष्कर कुमार दाहालले बताए । दोलखाका केही निजी तथा सामुदायिक विद्यालयले वैकल्पिक शिक्षाको रूपमा रेडियो अनलाइन कक्षा सुचारु गरेका छन् ।
सदरमुकाम चरीकोटको निजी विद्यालय अल्पाइन बोर्डिङ स्कुलले तीन सातादेखि जुमएपमार्फत अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । अल्पाइन स्कुलले दिउँसो दुई बजेदेखि चार बजेसम्म विद्यार्थीलाई जुममार्फत अनलाइन कक्षा लिने गरेको छ । त्यसैगरी जिल्लाको हनुमन्तेश्वर माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई रेडियोमार्फत वैकल्पिक कक्षा सञ्चालन गरिरहेको हनुमन्तेश्वर विद्यालयका शिक्षक भरत दाहालले जानकारी दिए ।