काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले मणिग्रामस्थित होटल ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा लुम्बिनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल चार सय जनाभन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा लुम्बिनी प्रदेशअन्तर्गतका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै आएको बताए । उनले यो कार्यक्रम मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा लुम्बिनी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए । साथै, अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जाने कम्पनीको योजना रहेको जानकारी गराए ।
उनले अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुर्याउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना सफल भएको बताए ।
समारोहमा सीईओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरूको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।