वासिङ्टन । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरुमा कर लगाउने चेतावनी दिएका छन् । शनिबार आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गर्दै अमेरिकी डलरबाहेक कुनै पनि मुद्रामा व्यापार गर्ने ब्रिक्स राष्ट्रहरूमा कर लगाउने धम्की दिएका हुन् । ट्रम्पले यस्तो कर एक सय प्रतिशत लगाउने कुरा गरेका छन् ।
ट्रम्पले भने कि हामीलाई ब्रिक्स देशहरूबाट ग्यारेन्टी चाहिन्छ कि उनीहरूले व्यापारका लागि अमेरिकी डलरको सट्टा कुनै नयाँ मुद्रामा व्यापार गर्दैनन् । यदि ब्रिक्स देशहरूले यसो गरेमा, तिनीहरूले अमेरिकामा आफ्नो निर्यातमा १०० प्रतिशत शुल्कको सामना गर्नुपर्नेछ । ट्रम्पले त्यस्ता देशहरुले अमेरिकी बजारमा सामान बेच्न बिर्सनुपर्ने चेतावनी पनि दिएका छन् ।
ट्रम्पले भने ‘व्यापारका लागि डलरको सट्टा अन्य मुद्राहरू प्रयोग गर्ने ठाउँ छैन । यदि कुनै देशले यस्तो गर्छ भने उसले अमेरिकालाई बिर्सनुपर्छ ।’ ब्रिक्स उदीयमान अर्थतन्त्र भएका देशहरूको समूह हो । ब्रिक्समा भारत, रुस र चीनलगायत नौवटा देश छन् ।
एक आपसमा व्यापारका लागि मुद्रा सिर्जनाका लागि ब्रिक्स राष्ट्रहरुबीच सहमति हुन सकिरहेको छैन । यस वर्ष रुसमा आयोजना भएको ब्रिक्स सम्मेलन अघि मुद्रालाई लिएर चर्को बहस भएको थियो । तर शिखर सम्मेलनमा ब्रिक्स राष्ट्रहरुले आफ्नै भुक्तानी प्रणाली बनाउनेबारे छलफल भने गरेका थिए । ग्लोबल स्विफ्ट भुक्तानी प्रणालीको सट्टामा नयाँ भुक्तानी प्रणाली तयार गर्ने विषयमा छलफल भएकोे थियो । त्यही विषयलाई लिएर ट्रम्पले चेतावनी दिएका हुन् ।