काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनका विषयमा बयान लिने कार्य सोमबार सकाउने प्रहरीको तयारी छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन गत बिहीबार काठमाडौं ल्याइएको थियो । शुक्रबारदेखि उनको बयान लिन थालिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले सरकारी वकिल कार्यालयमा लिइएको बयान सोमबार सकाउने तयारी रहेको बताए ।
यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई पोखराबाट त्यहाँ लगिएको थियो । रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट गएको कात्तिक २ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो । असोज ६ गते नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी पनि सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर हालसम्म थुनामा छन् । उनलाई पनि बुटवल र काठमाडौं ल्याएर बयान लिइएको थियो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको छ । छवि ग्यालेक्सी टेलिभिजनका सञ्चालक हुन भने लामिछाने ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक हुन् । ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईद्वारा सञ्चालित गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमार्फत उनै सञ्चालक रहेका विभिन्न पाँच सहकारीको रकम अपचलन भएको खुलेपछि लामिछानेसहित छवि पक्राउ परेका हुन् ।
पर्सा प्रहरी स्रोतका अनुसार, सोमबार वा भोलि मंगलबारमा रवि, छवि र जीबीविरुद्ध पक्राउ पुर्जीका निम्ति अदालतको अनुमति लिने तयारी भएको छ । प्रहरीले उनीहरूविरुद्ध पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम अपचलनका विषयमा पक्राउ पुर्जी लिने तयारी गरेको हो । प्रहरीले रवि र छविलाई पर्सा लैजाने तयारी गरिनुका साथै उनीहरूमाथि चितवनको सहारा सहकारीको रकम अपचलनका विषयमा समेत अनुसन्धान गरिने जनाएको छ ।