काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयअन्र्तगतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो ।
देशभर एकैसाथ महिलाहरूमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा विवेक कुमार लालले जानकारी दिए । क्यान्सरको उपचारसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रालयको प्राथमिकताका अनुसार यस वर्ष अभियानकै रूपमा एकैसाथ परीक्षण गर्न लागिएको हो । यसवर्ष अभियानका रूपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनले जानकारी दिए । नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अब्जर्भेटरीको तथ्याङ्कमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका दुई हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।
हाल नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्जर्भेटरीका अनुसार विश्वभर प्रतिएक लाख रोगीमा सात जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै नौ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरूले बताउने गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रूपमा स्क्रिनिङ थाल्ने घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले पाठेघर तथा स्तनको क्यान्सर नियन्त्रणलाई प्राथमिकता दिएर कार्यक्रम अघि बढाइएको हो ।
क्यान्सरविरुद्ध १६ लाख किशोरीलाई निःशुल्क खोप
यसअघि मन्त्रालयले विश्व क्यान्सर दिवसका दिन माघ २२ गतेबाट दुई सातासम्म १६ लाख किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्धको निःशुल्क खोप अभियान समेत सञ्चालन गर्दैछ । यस निर्णयबाट सातदेखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुनेछन् ।