काठमाडौं । नेपाल टेलिकमले जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं २ मा नयाँ साइट निर्माण गरी कम्पनीले आइतबारदेखि टुजी÷फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।
जिल्लाको अतिविकट पातारासी गाउँपालिकामा टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौर गाउँलगायत स्थानमा बसोबास गर्ने बासिन्दाहरू पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् । दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भोईस तथा डाटा सेवाको विस्तार गरेको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । यसले सो क्षेत्रका स्थानीयवासी, घुम्न आउने पर्यटकहरू तथा यहाँका पर्यटनलगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने जनाइएको छ ।