काठमाडौं । काठमाडौं उपत्यकाको खानेपानी वितरण सञ्जालका पाँच सय ७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले उक्त नयाँ पाइपलाईनको अन्तिम परीक्षण सम्पन्न गरेको हो ।
पीआईडीले उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु गरेसँगै विभिन्न स्थानमा बिच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको परीक्षणलाई तीव्रता दिँदै आएको थियो । सोहीअनुसार उपत्यकाका १६ वटा खानेपानी वितरण सञ्जाल (डीएमए)का पाँच सय ७४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण सकिएको हो । पीआईडीबाट मेलम्ची उप–आयोजना दुईअन्तर्गत बिच्छ्याइएका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरसहित काठमाडौं उपत्यकाका कुल ३३ वटा खानेपानी वितरण सञ्जाल (डिएमए)का ९८० किलोमिटर नयाँ पाइपलाइनमध्ये पाँच सय ७४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण सकिएको पीआईडीका आयोजना उपनिर्देशक एवम् प्रवक्ता ई चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार परीक्षण सकिएका उक्त १६ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्नका लागि हाल आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यसअघि पहिलो चरणमा चार र दोस्रो चरणमा १० गरी १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा तीन सय ५० किलोमिटर नयाँ पाइलाइनको परीक्षण सम्पन्न गरी त्यसको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको उनले बताए । हाल अन्तिम परीक्षण सम्पन्न भएका र यसअघि परीक्षण सम्पन्न गरी हस्तान्तरण गरिएका समेत गरी ३० वटा डीएमएका नौ सय २४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण सम्पन्न भएको उनले जानकारी दिए ।