काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा ११ जना सदस्यसहितको विमेन्स फोरमको गठन गरेको छ । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरूमाथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले गठन गरिएको यस फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।
अहिले विश्वव्यापीरूपमा चलिरहेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै मिति मंसिर १४ गते शुक्रबारको दिन कम्पनीकोे प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यबद्धता’को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रमको मुख्य स्रोत व्यक्तिको रूपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिति रहेको थियो । अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा र व्यावसायिक संस्थाहरूले अपनाउनुपर्ने कानुनी व्यवस्थाबारे विस्तृतरूपमा प्रशिक्षित गरे । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइनमार्फत उपस्थित एक सय ७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता भएर काम गर्न अर्यालले प्रोत्साहन समेत गरे । उक्त कार्यक्रममा अर्यालले लैङ्गिक हिंसा महिलाहरूमाथि मात्र नभई पुरुषहरूमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनीरूपमा अघि बढ्ने भन्नेबारेमा पनि जानकारी दिए ।
फोरमले आउने समयहरूमा यस्तै शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरूप विभिन्न कार्यहरू गर्ने भविष्यको सोच रहेको बताए । कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बीसीले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको जनाउँदै कार्यक्रम समापन भएको घोषणा गरे । यस विमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई सशक्तीकरण गर्नुका साथै महिलालगायत सबैका लागि उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समन्वय गर्ने र सोको सहजताको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समन्वय गर्नु रहेको छ ।