काठमाडौं, असार २८
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालको कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको जनाएको छ । कम्पनीका अनुसार यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपंक्तिका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ ।
यो साता नेपाल रेडक्रस र कोका—कोला नेपालका प्रतिनिधिहरुको उपस्थितिमा पहिलो चरणको वितरण कार्यक्रमअन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोशी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । यस वितरण कार्यक्रम असार १६ गते बाट सुरु गरिएको थियो । हालसम्म ९ सय ५० थान एन ९५ मास्क, २ सय ६५ थान सुरक्षा बुट, स्यानिटाइजर १ हजार ८ सय बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३ सय र १३ हजार १ सय २ थान साबुन वितरण भइसकेका छन् ।
प्रदेश ५ को भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशको सुर्खेतस्थित मध्यपश्चिम अस्पताल र सुदुरपश्चिमाञ्चल स्थित कैलालीको सेती अस्पतालमा अर्को हप्ता वितरण गरिने योजना बनाइएको जानकारी गराउँदै नेरेसोका निर्देशक दिव्यराज पौडेलले नेरेसो कोका—कोलाको साझेदारीबाट उपलब्ध सामग्री प्राप्त गर्ने अस्पताल तथा संस्थाहरुले हार्दिकताका साथ स्वीकार गरेको पाइएको बताएका छन् ।