काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको पहिलो चारतारे होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धनमा जोड दिएको छ । सिद्धार्थले सोभेनियर सपमार्फत विभिन्न स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्री गरिरहेको हो ।
सोभेनियर सपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रिन टीलगायतका उत्पादन राखिएको होटलका अपरेसन म्यानेजर रामकृष्ण तिमिल्सेनाले बताए । उनका अनुसार राउटे र अन्य समुदायले बनाएका काठका सामग्री, थारू समुदायले बनाएका ढकिया, डालो, डोकोलगायतका सामग्री समेत सोभेनियर सपमा राखिएको छ । प्रायः होटलको सोभेनियर सपमा गरगहना र कपडा राख्ने चलन भए पनि यस होटलमा भने यस क्षेत्रका रैथाने उत्पादन राखिएको हो । ‘यहाँ आउने सेवाग्राहीले कर्णालीको चिनोका रुपमा विभिन्न उत्पादन तथा अग्र्यानिक कृषिजन्य उत्पादन कोसेलीका रूपमा लैजान सकून् भन्ने उद्देश्यले यसको सुरुवात गरिएको हो’, उनले भने । रैथाने बालीलगायतका उत्पादन प्रवर्द्धन गर्दै आएको कर्णाली प्रदेशको उद्योग मन्त्रालयअन्तर्गतको लघु ओद्यौगिक ग्राम सञ्चालक समितिको समन्वयमा सिद्धार्थ होटललाई सो उत्पादन आपूर्तिका लागि समन्वयन गरिएको समितिका अध्यक्ष उदिराम डाँगीले बताए ।