काठमाडौं । संयुक्त राज्य अमेरिकाले सोमबार नयाँ निर्यात प्रतिबन्धहरू घोषणा गरेको छ । घोषणाले विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा गहिरो हुँदै गर्दा चीनको उन्नत सेमिकन्डक्टरहरू बनाउने क्षमतालाई लक्षित गरेको छ । सेमिकन्डक्टर हतियार प्रणाली र कृत्रिम बुद्धिमत्ता (एआई)मा प्रयोग हुन्छ ।
‘संयुक्त राज्य अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षालाई धम्की दिने तरिकाले हाम्रो प्रविधि शत्रुहरूद्वारा प्रयोग हुनबाट बचाउन महत्वपूर्ण कदमहरू चालेको छ’, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्तिमा भने, ‘वासिङ्टनले सहयोगी र साझेदारहरूसँग सक्रिय र आक्रामकरूपमा हाम्रो विश्व–अग्रणी प्रविधिहरू र ज्ञानको रक्षा गर्न काम गरिरहनेछ ता कि तिनीहरू हाम्रो राष्ट्रिय सुरक्षालाई कमजोर पार्न प्रयोग हुँदैनन् ।’
यी कदमले चीनमा उच्चस्तरीय एआई चिप्स निर्यातमा रहेका विद्यमान अमेरिकी प्रतिबन्धहरूलाई झन् कडा बनाउँछन् । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने केही हप्ताअघि यो घोषणा आएको छ । ट्रम्पले चीनमाथि वासिङ्टनको आक्रामक धारणा अपनाउने अपेक्षा गरिएको छ ।
पछिल्लो नियममा चिनियाँ चिप फर्म पायोटेक र सिक्यारियर टेक्नोलोजीसहित एक सय ४० कम्पनीलाई निर्यातमा प्रतिबन्ध लगाइएको छ । वाणिज्य मन्त्रालयका अनुसार चिप उत्पादन गर्ने उपकरण बनाउने नौरा टेक्नोलोजी समूहलाई पनि यसले प्रभावित गर्छ ।
नयाँ नियमहरूमा दुई दर्जन प्रकारका चिप बनाउने उपकरण र सेमिकन्डक्टरहरूको विकास वा उत्पादनका लागि तीन प्रकारका सफ्टवेयर उपकरणहरूमा नियन्त्रण पनि समावेश छन् । ‘हामी हाम्रा सहयोगी र साझेदारहरूसँग निरन्तर कुरा गर्दैछौँ, साथै हाम्रा नियन्त्रणहरूको पुनर्मूल्यांकन र अद्यावधिक गर्दैछौँ”, उद्योग र सुरक्षा मन्त्रालयका उप–सचिव एलान एस्टेभेजले भने ।
यी प्रयासले ट्रम्पको पहिलो कार्यकालदेखि सुरु भएको नीतिलाई अघि बढाउँछन् । यसको उद्देश्य बेइजिङको प्रविधि अर्थतन्त्रमा अग्रणी स्थान हासिल गर्ने क्षमतालाई रोक्नु थियो । रासस/एएफपी