धरान (सुनसरी) । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधाराबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउण्ड गोलीसमेत प्रहार गरेको जानकारी दिए ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेकोे अवस्थामा बा १ झ ५१२७ र बा १ झ ४६०५ सरकारी नम्बर प्लेटका दुईवटा जिपलाई मङ्गलबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
गाँजा बरामद गर्ने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यलय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानुचोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।