काठमाडौँ । ‘अपाङ्गता भएका व्यक्तिको ३३औँ अन्तर्राष्ट्रिय दिवस, २०२४’ को अवसरमा सुभामुख देवराज घिमिरेले अपाङ्गता क्षेत्रको संवेदनशीलतालाई परिवार, समाज र राष्ट्रले आत्मसात् गर्नुपर्ने बताएका छन् ।
नेत्रहीन युवा सङ्घ नेपाले बुधबार यहाँ आयोजना गरेको ‘अपाङ्गता युवा सम्मेलन’ को उद्घाटन गर्दै सभामुख घिमिरेले अपाङ्गताको सवालमा समावेशिताको सवाललाई कार्यान्वयन गर्न सबैभन्दा पहिला अपाङ्गता भएका व्यक्ति आर्थिक तथा सामाजिक रुपमा बलियो हुनुपर्ने बताए ।
“अपाङ्गता भएका व्यक्ति, परिवार वा समाजको न्यूनतम आवश्यकता पूरा भएपछि मात्रै उनीहरुले पाउने समावेशिता अधिकारसम्बन्धी नीति र सिद्धान्तको कार्यान्वयन गर्न पहल गर्न सकिन्छ, त्यस अर्थमा पनि उनीहरु आर्थिक रुपमा सबल र सक्षम हुनुपर्छ”, उनले भने ।
नेपालको संविधानले समानता, समावेशिता, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सम्मान र सबै प्रकारका भेद्भाव अन्त्य गर्ने विषयलाई प्राथमिकता दिएको उल्लेख गर्दै सभामुख घिमिरेले अपाङ्गताको सवालमा संवैधानिक अधिकार र भएका ऐन÷कानुन कार्यान्वयनको सवालमा कमिकमजोरी भएको टिप्पणी गरे ।
“अपाङ्गता भएका व्यक्तिलाई सङ्घीय र प्रदेशसभामा समान प्रतिनिधित्व गराउन निर्वाचन ऐनलाई समय सान्दर्भिक बनाउन आवश्यक छ, साथै सबैभन्दा महत्वपूर्ण अपाङ्गतासम्बन्धी कानुनको कार्यान्वयन गराउनुपर्छ र कार्यान्वयन नगर्ने निकाय वा व्यक्तिलाई कारबाही गर्नुपर्ने हुन्छ”,उनले भने । सभामुख घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई राज्यको नीति निर्माण गर्ने वा नीति कार्यान्वयन गर्ने तहमा समान सहभागिताका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।