प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्व राख्ने खालका सम्झौता भएको बताएका छन् । चीनका लागि नेपाली राजदूतावाले बुधबार बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’ समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताएका हुन् ।
प्रधानमन्त्रीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीनजस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धि गरी समृद्धिको यात्रामा अगाडि बढिरहेका सन्दर्भमा सन् २०२५ मा धेरै ठूलो संख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिए । उनले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको जनाए । प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास गरेको पनि उल्लेख गरे ।
बुधबार नै नेपाल र चीनले दुवै देशबीच पारिस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा सहमति भएको बारे संयुक्त वक्तव्य जारी गरेका छन् । ‘दुई देशबीच भएका महत्वपूर्ण समझदारीको कार्यान्वयन गर्न, उच्चस्तरीय आदान–प्रदानलाई निरन्तरता दिन, राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न र पञ्चशीलका सिद्धान्तअनुरुप शान्तिपूर्ण सहअस्तित्व तथा सद्भावपूर्ण छिमेकी सम्बन्ध र मित्रताको सिद्धान्तका आधारमा आपसी लाभ हुने सहकार्यलाई अझ गहिरो र व्यापक बनाउन तयार भएका छन् । यसले दुवै देश र जनताको हितमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनेछ’, संयुक्त वक्तव्यमा भनिएको छ ।