काठमाडौं । बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) उच्चरूपमा बढेसँंगै त्यसको असर गैरबैंकिङ सम्पत्ति (एनबीए)मा परेको छ । पछिल्लो समय बैंकहरूको निक्षेप बढ्दै गएको छ भने कर्जाको माग न्यून छ । विगतमा प्रवाह भएको कर्जाबाट नियमित साँवाब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।
राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ३७ अर्ब ७२ करोड ३० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा औसत निष्क्रिय कर्जा चार दशमलव ४२ प्रतिशत छ । जुन गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ७६ प्रतिशत विन्दुले बढी हो । यस्तै गैरबैंकिङ सम्पत्ति पनि गत वर्षभन्दा १६ अर्ब ३३ करोड ९० लाख रुपैयाँले बढी हो । गत वर्ष असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा तीन दशमलव ६६ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति २१ अर्ब ३८ करोड ४० लाख रुपैयाँ थियो ।
गत असोजसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ भने निष्क्रिय कर्जा चार दशमलव २८ प्रतिशत छ । गत वर्ष असोज मसान्तको तुलनामा निष्क्रिय कर्जा शून्य दशमलव ६७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १४ अर्ब एक करोड रुपैयाँ बढी हो । गत वर्ष असोजसम्म वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा तीन दशमलव ६१ प्रतिशत र गैरबैंकिङ सम्पत्ति १७ अर्ब ७२ करोड ४० लाख रुपैयाँ थियो ।
गत असोजसम्म विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति तीन अर्ब ७० करोड ३० लाख रुपैयाँ र निष्क्रिय कर्जा चार दशमलव ३७ प्रतिशत छ । गत वर्षको सोही अवधिकोे तुलनामा निष्क्रिय कर्जा एक दशमलव १८ प्रतिशत र गैरबैंकिङ सम्पत्ति एक अर्ब ३० करोड ९० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा तीन दशमलव १९ प्रतिशत र गैरबैंकिङ सम्पत्ति दुई अर्ब ३९ करोड ४० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ । गत असोजसम्म निष्क्रिय कर्जा १० दशमलव ८४ प्रतिशत र गैरबैंकिङ सम्पत्ति दुई अर्ब २८ करोड ६० लाख रुपैयाँ छ । एक वर्षअघिको तुलनामा गैरबैंकिङ सम्पत्ति एक अर्ब एक करोड ९० लाख रुपैयाँले बढी हो भने निष्क्रिय कर्जा दुई दशमलव ४७ प्रतिशतले बढी हो । गत वर्ष असोज मसान्तमा निष्क्रिय कर्जा आठ दशमलव ३७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति एक अर्ब २६ करोड ७० लाख रुपैयाँ थियो ।