काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच यससम्बन्धी सम्झौता भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर वेद प्रकाश मिश्रले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ ’ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन् । ल्याबसम्बन्धी सेवाका लागि लोकप्रिय रहेको सिग्मा ल्याबले भक्तपुरको राधेराधेबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
बैंकले हाल ७७ वटै जिल्लामा तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम काउन्टर, दुई सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।