काठमाडौँ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप बढाएको बताएकी छिन् ।
उनले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुख्खा खडेरीजस्ता प्रकोपहरूले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन् । उनले नेपालमा जलवायु परिवर्तनबाट परेको असरले जनजीवन प्रभावित बन्दै गएको उल्लेख गरिन् ।
उनले भूगोल केन्द्रीय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरका विषयमा गरेको अनुसन्धानले जलवायु अनुकूलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्त्वहरूको पहिचान गर्दै सोहीअनुरूप अनुकूलनमा दिगो र प्रभावकारी उपायहरूको अवलम्बन गर्न सहयोग पुग्ने दाबी गरिन ।
उनले अनुकूलन क्षमता वृद्धिको लागि अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्न अनुकूलन क्षमता वृद्धि गर्न आवश्यक रहेको बताइन् । उनले विभिन्न देशहरू सम्मिलित भई गरिएको अध्ययनले किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौती सामना गर्न सहज हुने अपेक्षा रहेको बताइन् ।